भारतीय राजदूत श्रीवास्तवद्वारा उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

बुधबार, २० पौस २०७९

काठमाडौं— नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन बुधबार राजदूत श्रीवास्तव भौतिक मन्त्रालय पुगेका हुन् ।

राजदूत श्रीवास्तवले भारत सरकार, भारतीय जनताका तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा उक्त लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।

भारतीय सहयोगमा चालू विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको स्वकीय सचिव गौतमले बताए । शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभांग पराजुलीलगायतका अधिकारीको उपस्थिति रहेको थियो ।