सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा पुस २६ गतेसम्म निर्णयमा पुग्नेः माधव कुमार नेपाल
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पुस २६ गतेसम्म सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा निर्णयमा पुग्ने बताएका छन्।
पार्टी निकट युवा संघले नवनिर्वाचित सांसदहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले सरकारका विषयमा निर्णय गर्न हातारिनु आवश्यक नभएको बताए।
‘कतिपय सञ्चारमाध्यमले एकीकृत समाजवादी अलमलमा पर्यो। सरकारमा सहभागी हुने नहुने कुरा गरेन, समर्थन पनि गरेन, विरोध पनि गरेन भनेर लेखेको पाएँ।’ अध्यक्ष नेपालले भने, ‘हामीलाई हतार छैन, पुस २६ गते विश्वासको मत लिने बेलासम्म निर्णय गरे भएनरु सस्पेन्समै रहोस् न तब न हाम्रो अघिपछि मान्छे कुद्ने परिस्थिति बन्छ ।’
उनले अनुहार हेरेर समर्थन गर्ने भए प्रचण्डको अनुहार हेरेर समर्थन गरिने पनि बताए।
‘अनुहार हेरेर समर्थन गर्ने भए प्रचण्डको अनुहार हेरेर गरौंला तर यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा अहिलेसम्म आएकै छैन। सरकार बनाउँदा कसैले सोधेको पनि छैन। अरुजस्तो सत्ता बाहेक केही नदेख्ने चिन्तन पनि हामीमा छैन’, नेपालले थपे, त्यसैले पिक्चर क्लिएर नभएसम्म निर्णय गर्न हतार छैन।’
उनले स्थायी कमिटी र पोलिटब्युरो बैठक तथा जिल्ला इन्चार्ज तथा जनवर्गीय संगठनका पदाधिकारीहरूसँगको कुराकानीमा पनि पार्टी बलियो बनाउनुपर्ने सुझाव आएको भन्दै उनले त्यसैअनुसार अघि बढिने बताए।
राष्ट्रिय पार्टीको मान्यता नपाए पनि पार्टीका सांसदहरुलाई ह्वीप लाग्ने उनको तर्क छ।