नयाँ ‘शिक्षा ऐन’ पछि शैक्षिक परामर्श व्यवसायका समस्याहरु समाधान हुन्छन् : मन्त्री भण्डारी
काठमाडौँ – विनाविभागीय मन्त्री दामोदर भण्डारीले नेपाली शैक्षिक परामर्श क्षेत्रका समस्याहरु शिक्षा ऐन मार्फत समाधान गरिने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले पुरानो शिक्षा ऐनका कारण धेरै समस्या देखिएको भन्दै नयाँ शिक्षा ऐनबाट यस्ता समस्याहरुको समाधान हुने बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि रहेका भण्डारीले २०२८ सालको ऐनका कारण शिक्षामा सोचे अनुसार प्रगति नभएको भन्दै अब नयाँ ऐन मार्फत शिक्षा क्षेत्रका समस्याहरुको समाधान गर्ने बताए । ‘अहिले २०२८ सालको शिक्षा ऐनले नेपालको शिक्षा क्षेत्र चलायमान छ । थोत्रो ऐनलाई बेला मौकामा टालटुल पारेर काम चलाउने गरिएको छ । यसरी धेरै समय चल्दैन ।’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब छिट्टै नयाँ शिक्षा ऐन आउँदै छ । उक्त ऐनमा यो क्षेत्रका समस्याहरु पनि समेटिन्छन् । आवश्यक पर्यो भने तपाईँहरुसँग पनि छलफल गरेर निश्कर्षमा पुगौंला ।’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डेले उपस्थित सबैलाई स्वागत गर्दै परामर्श क्षेत्रका समस्याहरुबारे जानकारी गराएका थिए । पाण्डेले औल्याएका विषयहरुबारे आफू जानकार रहेको भन्दै मन्त्री भण्डारीले समस्या समाधानका लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाको उद्घाटन सत्रमा विभिन्न क्षेत्रबाट निम्त्यिाइएका व्यक्तित्वहरुले सफलताको शुभकाना दिएका थिए । सभाले महासचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गर्नेछ । साथै, संघको विधानमा आवश्यक सम्बोधनसमेत गरिने बताइएको छ ।
