सबैजनाले सरकारलाई समर्थन गरेको देखेर डराए केसी
काठमाडौँ— राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका छन् ।
नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ?’
अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने पनि बताए । कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि उनले आशंका गरेका छन् ।
‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीं भित्र लडामती गरेर एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो?’ उनले भने ।
सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुनसक्ने आशंका गरे ।
‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न त पाइँदैन संसदमा तर दिएको समर्थन थुत्न त संविधानले छेक्दैन नि’ अध्यक्ष केसीले प्रश्न गरे, ‘त्यस्तो बेला सरकारको हालत के हुन्छ? त्यही खेलभित्र यो (समर्थन) त होइन कतै?’
त्यही खेल हुने आशंकाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको जुहारी परेको पनि अध्यक्ष केसीले बताए ।
चुनावमा भएको खर्च उठाउन पनि दलहरु सरकारमा जान लालायित भएको हुनसक्ने उनले बताए । ‘बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा नगई, देशको प्राकृतिक साधन स्रोत दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ?’ उनले भने, ‘त्यही डरले र विगतमा भएका कमी–कमजोरीबाट बच्न पनि सबै एक ठाउँमा भएका त होइनन्?’
केसीले आफूहरु भने एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए ।