पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रको सन्देश, राष्ट्रियताबिनाको प्रजातन्त्रले जनतालाई कुनै सुख दिदैन

मंगलबार, २६ पौस २०७९

काठमाडौं –  पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राज्य प्रणाली पुनरावलोकन हुनुपर्ने बताएका छन्। पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्रियताबिनाको प्रजातन्त्रले जनतालाई कुनै सुख दिन नसक्ने उल्लेख गरेका हुन् ।

पूर्वराजा शाहले राजसंस्था राजनीतिक उचारचढावप्रति निरपेक्ष रहँदै आएको बताउँदै सबैको अवधाराणा र अनुभूति, चासो र चिन्ताका विषय सुन्न सदैव तयार रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुदै गएका छौँ। राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्दछ। हामी चाहन्छौं( देश आफ्नै बाहुबलमा अघि बढोस, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस, सबै यत्नप्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस्।

पूर्वराजा शाहले जारी गरेको शुभकामना सन्देशको पूर्णपाठ

छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिंगो र सवल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ। नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लव हुदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ। हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइवक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविस्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं।
वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुदै गएका छौं। राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौं( देश आफ्नै बाहुबलमा अघि बढोस, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस, सबै यत्न( प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस्। राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति आलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आवस्यक देखिन्छ।
राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो। राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाहवंशीय राजसंस्था कहिले चुकेको छैन। हरेकका आ(आफ्ना राष्ट्रिय अवधारणा, अनुभुति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौं।