फरार सुचिमा रहेका सांसदले गृहमन्त्रीकै अगाडि गरे मतदान, सामुन्ने उभिदा पनि परेनन् पक्राउ
काठमाडौँ – फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री रवि लामिछानेकै अगाडि प्रचण्डलाई विश्वासको मत दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको मतदानमा फरार सुचिमा रहेका सांसद लक्ष्मी कोइरी महतोले गृहमन्त्री लामिछानेकै अगाडी मत दिएका हुन् ।
प्रस्तावको पक्षमा मतदान गर्न उभिएका महतोले गृहमन्त्रीकै अगाडि पुस्तिकामा हस्ताक्षर गरेका थिए। गृहमन्त्री लामिछाने पनि प्रस्तावको पक्षमा मतदान गर्न उभिएका थिए।
पुस्तिकामा वर्णानुक्रमअनुसार नामावली राखिएको थियो। वर्णानुक्रममा गृहमन्त्री लामिछाने र फरार सूचीका महतोको नाम सँगसँगै थियो।
यसअघि प्रहरीले संसद् सचिवालयलाई महतो सम्पर्कमा आए खबर गर्न पत्र पठाएको थियो। तर, गृहमन्त्रीकै सामुन्नेमा उभिँदा पनि महतो पक्राउ परेनन्।
महतो सशस्त्रका असइ थमन विकको हत्यामा फरार सूचीमा छन्। मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग उनीमाथि छ। उनलाई २ असोज ०७६ मा जिल्ला अदालत महोत्तरीले एक लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि फरार छन्।