सरकारलाई विश्वासको मत दिए तापनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने छौः माधवकुमार नेपाल
काठमाडौं— एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । संघ तथा प्रदेशका सांसदको सम्मान कार्यक्रममा नेपालले प्रतिपक्षमा बस्ने र संगठन निर्माणमा केन्द्रित हुने बताएका हुन् ।
नेपालले ०५१ मा प्रमुख प्रतिपक्षी दल कांग्रेसले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्मरणसमेत गरे । ‘विश्वासको मत दिएपछि सत्ताधारी दल हुन्छ भन्ने कहाँको व्याख्या हो रु ०५१ मा हाम्रो पार्टीको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको स्मरण गर्नुपर्दैन रु’ अनेरास्ववियुले बुधबार पार्टी कार्यालय मीनभवनमा गरेको कार्यक्रममा नेपालले भने । मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारमा नेपाल उपप्रधानमन्त्री थिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई भ्रष्टाचार अन्त्य गर्ने, जनताको जीवनस्तर सुधार्ने, संसद् र संविधानको रक्षा गर्ने विश्वासको मत दिएको उनले बताए । उनले भने, ‘नेपालको संविधानमा संसद् विघटन गर्ने अधिकार कहीँकतै उल्लेख छैन, विगतको घटना नदोहोरियोस् भन्ने खबरदारी गर्दै लोकतन्त्रको रक्षाका लागि विश्वासको मत दिएका हौँ,’ नेपालले भने ।
प्रचण्डलाई काम गरेर देखाउने अवसर भएको पनि उनले बताए । नेपालले नेता तथा कार्यकर्तालाई पार्टी संगठन बनाउन गाउँ जान पनि निर्देशन दिएका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले स्ववियु निर्वाचनमा देखिने गरी अनेरास्ववियुले मिहिनेत गर्नुपर्ने बताए ।