नेकपा एस र जसपा बिच पार्टी एकीकरणका लागि औपचारिक छलफल सुरू

सोमबार, २ माघ २०७९

काठमाडौं— माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकीकरणका लागि औपचारिक छलफल आज (सोमबार) बाट सुरू भएको छ ।

आजबाट सुरू भएको औपचारिक छलफलबाट निकास निकाल्ने र पार्टी एकता गर्ने एकीकृत समाजवादीको तर्फबाट गठित वार्ता समितिका संयोजक डा. वेदुराम भूसाल बताउँछन् । ‘वार्ता समितिमा छलफल हुन्छ र निकास निक्लन्छ । निकास निकाल्नकै लागि वार्ता समितिहरू बनेका हुन्,’ उनले भनेका छन् ।

मंसिर ४ को निर्वाचनपछि नै दुई पार्टीका नेताहरूबीच एकीकरणका लागि अनौपचारिक छलफल चलिरहेको भएपनि औपचारिक वार्ता भने भर्खरै प्रारम्भ भएको छ । ‘अनौपचारिकरूपमा त संवाद, वार्ताहरू भइरहेकै हुन्,’ उनले भने, ‘अबचाहिँ ठोसरूपमै निर्णय निकालेर जाने भन्ने हाम्रो हो ।’

जनता समाजवादीको तर्फबाट गठित वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ पनि पार्टी एकीकरण हुने बताउँछन् । ‘पार्टी एकीकरणका लागि नै वार्ता गर्ने भनेका छौँ, हुँदै पनि छ । अब ठोसरूपमै सहमति निकालेर हामी पार्टी एकीकरणसम्म जान्छौँ,’ उनले भनेका छन् ।

केही दिनअगाडि एकीकृत समाजवादीले पार्टीका महासचिव डा. वेदुराम भूसालको संयोजकत्वमा र जनता समाजवादीले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएका थिए । ती नै समितिहरूबाट निकास निकालेर पार्टी एकीकरण गर्ने नेताहरूले बताएका छन् ।

पछिल्लो निर्वाचनमा जनता समाजवादीले १२ सिट जितेको छ भने एकीकृत समाजवादीले १० सिट ल्याएको छ ।

यदि यी दुई पार्टीबीच एकीकरण भयो भने प्रतिनिधि सभाको ४औ‍ं ठूलो दल बन्छ । एकीकरण भयो भने उनीहरूसँग २२ सिट हुनेछ । अहिले २० सिटसहित चौथो दल बनेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यसबखत पाँचौ दल बन्नेछ ।