गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित
काठमाडौँ— गण्डकी प्रदेशसभाको नेकपा एमालेबाट उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित भइन भने कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाएकी छन् ।
थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको पनि समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित थिए ।
गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।