सुदूरपश्चिमको उपसभामुखमा एमालेकी कोइलीदेवी र नेकपा एसकी माया पन्तबिच भिडन्त

मंगलबार, ३ माघ २०७९

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेकी कोइलीदेवी चौधरी र नेकपा एकीकृत समाजवादीकी माया पन्तबीच प्रतिस्पर्धा हुँदैछ । आज (मंगलबार) साँझ ६ बजे सुरु हुने उपसभामुखको निर्वाचनमा एमालेकी कोइलीदेवी चौधरी र नेकपा एकीकृत समाजवादीकी माया पन्त भिड्ने भएका हुन् ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशन बमोजिम प्रदेशसभा सचिवालयले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सत्तारुढ दलबाट यो प्रदेशमा उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीलाई दिने भनिएको थियो । तर, उन्मुक्ति पार्टीले उपसभामुख स्वीकार नगरेपछि एमाले आफ्नो उम्मेदवार अघि बढायो ।

सभामुख र उपसभामुख फरक(फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था बमोजिम एमालेले आफ्नो उम्मेदवारलाई अघि बढाएको हो । प्रदेशमा सभामुख सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भइसकेका छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका १०, एमालेका ११, नागरिक उन्मुक्तिका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरी २९ जनाको गठबन्धनमा बहुमत छ । माओवादी केन्द्रबाट सभामुख निर्वाचित भइसकेकाले सत्तारुढ गठबन्धनमा २८ जना छन् । यस्तै, कांग्रेसका १९, एकीकृत समाजवादी पार्टीका ४ र एक स्वतन्त्र गरी २४ जना रहेका छन् ।