नसोची, बुझी केही काम नगर्नु

बुधबार, ४ माघ २०७९

काठमाडौं – धेरै वर्ष पहिलेको कुरा हो । एउटा जंगलको पोखरीमा एउटा कछुवा बस्थ्यो । एकदिन पानी खान दुइवटा हाँस पोखरीमा आए । उनीहरुको कछुवासँग भेट भयो । हाँस र कछुवा मिल्ने साथी बने । हाँसहरुसँग कछुवा वन जंगलको धेरै ठाँउहरुमा सँग–सँगै घुम्न जान्थ्यो ।

केही महिना पानी नपरेकाले रुख विरुवा सुक्न थाले । पोखरीमा पानी सुकेर कम हुन थाल्यो । जंगलका जनावर र चरा पानीको अभावमा मर्न थाले । हाँसहरुले गाँउ छोड्ने निर्णय गरे । बिदा माग्न हाँसहरु आफ्नो प्रिय मित्र कछुवालाई भेट्न गए । हाँसहरुले कछुवालाई सम्झाएर भने, ‘अब हामी यो गाँउमा नबस्ने भयौं । हामी अर्को ठाँउमा बसाइ सर्न लागेका छौं । खडेरीले यो गाँउ सखाप हुदै छ । तिमी पनि समयमै विचार गर्नु ।’

सँगै बस्ने सँगै डुल्ने प्रिय मित्रले सुनाएको दुःखद कुरा सुनेर कछुवाले रुदै विलैना गर्यो । ‘प्रिय मित्रहरु तिमीहरु विना म कसरी बाँच्न सक्छु ? बरु म पनि तिमीहरुसँगै आउँछु, मलाई पनि सँगै लैजाउ ।’ हाँसहरुले भने ‘तिमी उड्न सक्दैनौ । कसरी हामीसँग लानु र ? तिमी हामीसँगै आउने कुनै उपाय भए सोच ।’

कछुवाले भन्यो, ‘म सँग एउटा उपाय छ, तिमीहरु एउटा बलियो लामो लौरो खाजेर ल्याउ ।’ कछुवाले सोचेको उपाए अनुसार दुवै हाँस एउटा लामो र बलियो लौरो खोज्न गाँउतिर गए । कछुवाको उपाय अनुसार लौरोको दुवैतिर हाँसको चुच्चोले च्याप्ये । अनि बिचमा कछुवाले पनि मुखले लौरोमा टोकेर झुन्डिँदै आकाश तिर उडे ।

यात्रा लामो छ, कठिन पनि छ । मुख नखोल्नु, होस् गरेर बस्नु भनी हाँसहरुले अनुरोध गरे । कछुवाले पनि, हुन्छ म याद राख्छु भन्यो । उनीहरु उडेर पहाड, उपत्यका र खोल्सा हुदै अर्को सहरतिर प्रवेश गरे । हाँसहरुले लौरोमा कछुवा उडाएको देखेर बालबालिका छक्क परी हेर्न थाले । ठूला मान्छेहरु पनि होहल्ला गर्न थाले । कोही ताली बजाउने कोही सिठ्ठी बजाउने भए । धेरै बेर चुप बसेको कछुवा तलको आवाज सुनेर नबोलिकन बस्नै सकेन । ‘तल के हुदैछ हँ !’ भनी, सोध्नलाई मुख के खोलेको थियो कछुवा लौरोबाट फुस्कियो । कछुवा बेस्सरी हुत्तिएर तल भुईमा बजारियो । यसरी बेला न कुबेला नसोचीकन बोल्न खोज्दा कछुवाको ज्यानै गयो । साथी हाँसहरु दुःखि भए ।

तसर्थ, कुनै पनि काम गर्दा हामीले त्यसले कस्तो प्रतिफल दिन्छ भन्ने कुरा बुझ्न जरुरी छ । नसोची, नबुझी काम, कुरो गर्दा हामी आफैंलाई हानी हुन्छ ।