उपमहासचिव पुनले लिए अस्पतालबाट बिदा

शुक्रबार, ६ माघ २०७९

काठमाडौं— नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट बिदा लिएका छन् । स्वास्थ्यमा केही सुधार आएसंगै ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई शुक्रबार डिस्चार्ज गरिएको हो।

पेटरोग विशेषज्ञ शर्माले, ‘उहाँलाई निगरानीमा राख्ने गरी डिस्चार्ज गरिएको हो। फलोअपका लागि भने आइराख्नुपर्ने हुन्छ ’भनेका छन् ।

उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन्। पेटरोग विशेषज्ञ डा. शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताए।

शर्माले भने, ‘फाइनल ट्रिटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ कि भन्ने हो। पेटमा पानी आएपछि कलेजोलाई कमजोर बनाएको प्रमाण देखियो।’

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो। डा. शर्माले भने, ‘चीनबाट फर्किएपछि लिभरमा कमजोरिपन बढ्यो। केही दिनअघि रोल्पाबाट फर्किएपछि उहाँको पेटमा पानी धेरै बढेको रहेछ। असजिलो भएपछि हामी कहाँ आउनुभयो। जण्डिस त छँदैछ। लिभरमा अलिकति असर गरेको देखिएको छ। पेटमा पानी बढेर उपचार गरेपछि अहिले उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ। कम्फरटेबल हुनुहुन्छ। उहाँ स्टेबल हुनुहुन्छ।’