लोभले लाभ, लाभले विलाप

शुक्रबार, ६ माघ २०७९

काठमाडौं – एकादेशमा एउटा ‘रमेश’ नाम गरेको धनी मान्छे बस्थ्यो । उसको एउटा राम्रो चल्ने दोकान थियो । एकदिन दोकानबाट घर फर्किदा बाटोमा रमेशको पर्स खस्यो । रमेशलाई आफ्नो पर्स खसेको कुरा घर पुगेपछि मात्र थाहा भयो । उसले घरमा उधुमगरी हराएको पर्स खोज्यो । कतै नभेटेपछि गाँउको मुखिया रामप्रसादसँग सहयोग लिन उ मुखियाको घरमा गयो । रमेशले मुखिया रामप्रसादलाई पर्स हराएको बारेमा जानकारी गरायो । रमेशको सबै कुरा सुनेपछि मुखिया रामप्रसादले गाँउमा एउटा सूचना जारी गर्यो ।

जसले रमेशको पर्स भेट्टाउछ र उसलाई र्फिता गर्छ उसलाई ५ हजार रुपैया इनाम दिइनेछ । सूचना जारी गरेको केही बेर छि साँझतिर एउटा गरिव किसानले रमेशको पर्स भेट्टायो । उसले पर्स उठायो र पर्स दिन रमेशको घर पुग्यो । घर पुग्ना साथ उसले रमेशलाई उसको पर्स दियो । पर्स पाएपछि रमेशले पर्समा भएको पैसा चेक गर्न थाल्यो । ठिक त्यहि समय त्यो गरिव किसानले रमेशसँग सूचनामा लेखे अनुसार इनामको पैसा माग्यो ।

पर्स हातमा आएपछि रमेशको मनमा लोभ आयो र उसले त्यो गरिव किसानलाई पैसा नदिने उपाय सोच्न थाल्यो । र उसले भन्यो केको पैसा ? तिमी धेरै बाठो रहेछौ । ‘मैले भर्खर आफ्नो पर्स चेक गरेको छु । तिमिले पहिले नै पर्सदेखि आफ्नो इनामको पैसा निकालिसकेका छौं ।’, रमेशले भन्यो ।

रमेशको कुरा सुनेर गरिव किसान एकदम छक्क पर्यो । र उसले भन्यो, ‘तर मैले त हजुरको पर्स खोलेकौ छैन ।’ रमेशले उसको कुरा मानेन र उ माथि चोरीको आरोप लगाउन थाल्यो । झगडा बढेपछि दुवैको केस मुखिया रामप्रसाद कहाँ लगियो । रामप्रसादले पहिला रमेशलाई सोधे, ‘तिम्रो पर्समा कति रुपैयाँ थियो ?’ रमेशले भन्यो, ‘मेरो पर्स हराएको बेला त्यसमा १५ हजार रुपैयाँ थियो । तर अव पर्समा १० हजार रुपैयाँ मात्रै छ ।’

किसानले फेरी भन्यो, ‘तर मैले त पर्स खोलेकै छैन ।’ मुखिया रामप्रसादले किसानलाई छेउमा लगेर केही प्रस्नहरु गरे । पुरै विषयवस्तु बुझे पछि रमेशलाई भने, ‘ठिकै छ रमेश तिमिले भने अनुसार तिम्रो पर्समा जम्मा १५ हजार रुपैयाँ थियो, होइन र । तर यो पर्समा त १० हजार मात्रै भएको देखियो । यसको मतलव यो तिम्रो पर्स होइन ।’ यति भनेर मुखिया रामप्रसादले त्यो पर्स त्यो पर्स इमान्दार गरिव किसानलाई इनामको रुपमा दिए । र रमेशलाई आफ्नो लोभले गर्दा त्यहाँदेखि खाली हात फर्कनुपर्यो ।

तसर्थ, लोभले गर्दा मान्छेले केहि पाउन सक्दैन अथवा पाई हाल्यो भने पनि गुमाउनुपर्ने हुन्छ । लोभको कारण मान्छेले केहि लाभ गरेपनि सो चिज केहि समय पश्चात बिलाप हुन पुग्दछ ।