वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल
काठमाडौँ – श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् ।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरणसभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको बताएका हुन् ।
सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने मन्त्री अर्यालले बताएका छन् ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको बताए । सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने उनको भनाइ छ ।