कांग्रेसद्वारा राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउने निर्णय

सोमबार, ९ माघ २०७९

काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको चप्पल कारखानास्थित भाडाको घरमा बसेको पदाधिकारी बैठकले आगामी राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका हुन । उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिन दबाब दिने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का,नेता डा.शेखर कोइराला,प्रकाशमान सिंह,संसदीय दलका मुख्य सचेतक रमेश लेखक,कार्यालय सचिव कृष्ण पौडेललगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

कांग्रेसले आफ्नो पार्टीका उम्मेदवारलाई मत दिनका लागि अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ । सत्ता गठबन्धन टुटाउने घोषित नीतिमा रहेको काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रलाई अप्ठेरोमा पार्न नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने चर्चाका बीच आज बिहान बसेको पदाधिकारी बैठकले आफ्नै उमेदवार खडा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरणको प्रक्रिया चलिरहेको छ ।