एनओसी शाखामा देखियो सकारात्मक परिवर्तन, विचौलियाको अन्त्य
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको एनओसी शाखामा सकारात्मक परिवर्तन देखिन थालेको छ । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिने यो शाखामा शाखा प्रमुखको रुपमा नेपाल सरकारका उपसचिव बासुदेव वस्ती आएपछि सकारात्मक परिवर्तन देखिन थालेको हो ।
एनओसी शाखाको प्रमुख भएर आएको ६ महिनामै वस्तीले आफ्नो भविश्यलाई नै दाउमा राखेर विद्यार्थीलाई सेवा दिन थालेपछि विद्यार्थी ठगिने क्रम घटेको छ । कार्यालय प्रमुख भएर आएको तीन महिनासम्म शाखाको बारेमा अध्ययन गर्न समय खर्चिएका वस्ती अध्ययन पश्चात आक्रमक देखिएका छन् । ‘म आउन भन्दा पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको एनओसी शाखाको सम्पूर्ण अनलाइन सेवा (एडमिन) को स्वामित्व शैक्षिक कन्सल्टेन्सी व्यवसायीहरुले सिफारिस गरेको अनाधिकृत व्यक्तिको कब्जामा थियो ।’, शाखाका प्रमुख वस्तीले भने, ‘त्यो एडमिन ल्याउन मैले ठूलो संघर्ष गर्न पर्यो ।पूर्वप्रधानमन्त्रीको दवाव आउँदा समेत मैले आफ्नो अडान छोडिन । आफ्नो करिअर दाउमा राखेर मैले एडमिन कब्जामा लिँए । एडमिन कब्जामा लिएपछि एनओसी लिन आउने अनधिकृत व्यक्तिको प्रबेशमा रोक लगाएँ । विद्यार्थी स्वयम् वा एकाघर भित्रको परिवारको सदस्यलाई मात्र एनओसी दिने निर्णय गरियो । यो निर्णयले विद्यार्थी ठगिनबाट जोगिएका छन् ।’
विद्यार्थीको एनओसी लिन कन्सल्टेन्सीका संचालकसमेत आएर सक्कल एनओसी कब्जा गरेको गुनासो धेरै आउने गरेको पाइएपछि विद्यार्थी स्वयम् उपस्थित हुन पर्ने व्यवस्था गरिएको उनको भनाई छ । ‘एउटा विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जान खोजिरहेको छ । शाखाबाट एनओसी पनि लियो । तर उसको भिसा लागेन । उसलाई जानकारी नै नदिइकन अर्को देशमा एप्लाई गरिदिएको पनि भेटियो ।’, मोटिभेट न्यूजसँगको कुराकानीमा उपसचिव वस्तीले भने, ‘त्यो कन्सल्टेन्सीले रिफण्ड आफ्नो खातामा मगाउने, अर्को देशमा एप्लाई गर्दा पनि कमिसन पाइने, अफिसमा आएको एउटा विद्यार्थीलाई जसरी पनि विदेश पठाउने नियत देखिए पछि एनओसीमा कडाई गरिएको हो ।’
शाखाले आजभोली यसरी एउटा देशको भिसा नलागे पहिला लिएको एनओसी परित्याग गरि अर्को देशको वा अर्को कोर्षका लागि एनओसी लिन सकिने व्यवस्था मिलाएको छ । ‘धेरै जना विद्यार्थीले ४ वटा ५ वटा एनओसी लिएको देखियो । एउटा विद्यार्थीले एउटा एनओसी लिएको दुई हजार तिर्न पर्छ । ५ वटा एनओसी निकाल्दा विद्यार्थीको १० हजार खेर गयो ।’, वस्तीले भने, ‘अनलाइन फारम भरेको र अनलाइनबाट पैसा तिरे बापत विद्यार्थीले कन्सल्टेन्सीलाई एक पटकको एक सय रुपैयाँ लिरेको देखिन्छ । ४ पटकमा उसको ४ सय रुपैयाँ भयो । त्यही लोभमा कन्सल्टेन्सीले एनओसी रद्द नगरेरै अर्को मोवाइल नम्बर प्रयोग गरेर नयाँ एनओसी लिन विद्यार्थीलाई सल्लाह दियो । विद्यार्थीको १० हजार झ्याम भयो । अहिले नागरिकता नक्बरका आधारमा भेरिफाई गर्ने गरिएको छ । जति वटा मोवाइलबाट एनओसी एकाउन्ट बनाए पनि पुरानो एनओसी रद्द भएर पैसा फिर्ता नभएसम्म अर्को एनओसी बन्दैन ।’ विद्यार्थीले जति पटक एनओसी बनाउँदा पनि दुई हजारभन्दा धेरै नलाग्ने वस्तीको भनाई छ ।
आफू आएपछि एनओसी लिन आउने विद्यार्थीलाई ३५ देखि ४० मिनेट भित्र एनओसी दिएर पठाउने गरेको उनको जिकिर छ । केही दिनअघिसम्म लामो लाइन देखिने एनओसी शाखामा आज भोलीछोटो लाइन देखिने गरेको छ । अनलाइनबाट विद्यार्थीलाई समय तालिका अनुसार बोलाएकाले उनीहरुको समयमै काम हुने गरेको उनको भनाई छ ।
यसरी समयमै काम बन्नुमा शाखामा कार्यरत कर्मचारीहरुले गरेको सहयोग पनि रहेको उनको भनाई छ । आफ्नो शाखामा कार्यरत कर्मचारी साथीहरुकै कारण यो खालको परिवर्तन सम्भव भएको भन्दै वस्तीले भने, ‘हामी सबै जना विद्यार्थीको काम छिटो सकाईदिऊँ भन्नेमा हुन्छौं । काम गर्दा गर्दै समय गएको अत्तो पत्तो हुँदैन । यहाँ कार्यरत कर्मचारीलाई खाजा खाने समेत फुर्सद छैन । अरु कार्यालयमा खाजा खाने समय भनेर १ घण्टा छुट्याइएको हुन्छ । हाम्रो लागि खाजा खानेसमेत समय छैन । आलोपालो गरेर १५ मिनेटमै खाजा खाएर काममा फर्किहाल्न पर्छ ।’
एनओसी दुरुपयोग भएको सूचना आएपछि मन्त्रालयले कडाई गरेको शाखाले जनाएको छ । गलत विवरण भरेर एनओसी लिन आउनेलाई समेत कारवाही गर्न थालेपछि शैक्षिक परामर्श व्यवसायीहरू सजक भएका छन् । आजसम्म विभागले २५ जनाभन्दा धेरै व्यवसाायीलाई कारवाही गरेको जनाएको छ । ‘एउटाको नागरिकता र अर्काको एकेडेमिक डकुमेन्ट अपलोड गर्ने, आईडि एउटाको नाममा खोलेर अर्कोको नागरिकता र एकेडेमिक डकुमेन्ट अपलोड गर्ने, उमेर पुगिसक्दा पनि नावालकको नामबाट फारम भर्नेलाई पहिलो चरणमा स्पष्टिकरण सोधेर माफि माग्न लगाएका छौँ ।’, शाखाका प्रमुख वस्तीले भने, ‘दोश्रो पटक यस्तो गल्ति गर्नेलाई सिधै कोलो सूचीमा राख्छौँ ।’ धेरै परामर्श व्यवसायी सजक हुँदा गलत गर्नेहरुको संख्या पहिलाभन्दा घटेको शाखाले जनाएको छ ।
शाखाले एनओसीलाई थप व्यवस्थीत र विद्यार्थी मैत्री बनाउन ‘वैदेशिक अध्ययन स्वीकृत व्यवस्थापन निर्देशिका २०७९’ तयार पारी अन्तिम स्वीकृतीका लागि मन्त्रालय पठाएको छ । मन्त्रीपरिषदबाट पास भएर आएपछि उक्त निर्देशिका कार्यान्वयनमा आउने शाखाले जनाएको छ । शाखाले अनलाइन आवेदन भेरिफाई भएको ४८ घण्टाभित्र विद्यार्थीलाई एनओसी दिने गरेको छ । बुधबारमात्र शाखाले ४४३ जना विद्यार्थीलाई एनओसी दिएको जनाएको छ ।