कर्णाली प्रदेशको सरकारले पायो पूर्णता, अहिले केहि बेरमा शपथ हुदै

बुधबार, ११ माघ २०७९

काठमाडौँ – कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार सत्ता साझेदार दलहरूबीच भएको छलफल पाश्चात मन्त्रालयको टुंगो लागेपछि नवनियुक्त मन्त्रीहरुलाई सपथ पनि आजै केहि बेरमा हुने भएको हो। छलफलबाट नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार जना र नेकपा एमालेबाट तीन जना मन्त्री बनेका छन्। आज नियुक्त भएका ४ जना मन्त्रीको शपथ बेलुका ६ बजे तोकिएको छ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री विमला केसीका अनुसार माओवादीबाट सल्यानका भीमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुर्खेतका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री, मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।

नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्री र मुगुका जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। नेकपा एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाहीलाई पुस २८ गते नै मन्त्रीमा नियुक्त गरिएको थियो। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा पुस २७ गते नियुक्त भएका थिए। उनले २८ गते शपथ लिएका थिए भने माघ ६ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। कर्णाली प्रदेशमा यसअघि ८ वटा मन्त्रालय थिए। पुस २७ गते सत्ता साझेदार दलहरूबीच मन्त्रालयको संख्या घटाएर ७ बनाउने सहमति भएको थियो।

सोमबारको मन्त्रिपरिषद बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभेर भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाइएको छ।