कर्म गर, फलको आश नगर

बिहिबार, १२ माघ २०७९

काठमाडौं – धेरै वर्ष अगाडि जब राजकुमार सिद्धार्थ गौतम ज्ञानको खोजीमा तपस्याको लागि निस्किए तब मानिसलाई कसरी दुःख मुक्त गराउने भन्न खोजका लागि ६ वर्ष तपस्या गरे । झण्डै ६ वर्ष तपस्या गर्दा फेरी पनि उनीमा ज्ञान प्राप्त नभएपछि उनले निरास हुँदै भनेका थिए, ‘यो तपस्याबाट ज्ञान प्राप्त गर्ने कुरा वाहियात रहेछ । मैले ज्ञान प्राप्त गर्न नसक्ने भए ।’

ज्ञान प्राप्त गर्न सक्दिन भन्ने निष्कर्ष निकाली उनी आफ्नो तपस्यालाई बिचमै भंग गरेर जंगलबाट सहर तिर फर्किए । जंगलको बाटो घर फर्किदै गर्दा थकित भएपछि एक चौतारोमा थकाई मार्नको लागि सुस्ताए । चौतारोमा सुस्ताई रहेको बेला सिद्धार्थ राजकुमारको नजर नजिकै रहेको एउटा विशाल पोखरीमा गयो ।

पोखरीमा कन्चन पानी थियो । उक्त पोखरीको डिलमा बसेर एक लोखर्केले बडो अनौठो गतिविधि देखाई रहेको थियो । लोखर्केले पुरै तनमनको साथमा पोखरीको पानीमा आफ्नो पुछ्छर चोप्दै पानी बाहिर फाल्दै, पुछ्छर चोप्दै पानी बाहिर फाल्दै गरिरहेको थियो । लोखर्केको यस्तो हर्कत देखेर आश्चर्य मान्दै सिद्धार्थले सोधे, ‘ए लोखर्को तिमीले यो के गरेको ? लोखर्कोले राजकुमारको मुखमा पनि नहेरी जवाफ दियो, ‘मैले पोखरी सुकाउन लागेको हो ।’

लोखर्कोको यस्तो कुरा सुनेर सिद्दार्थ राजकुमारले हाँस्दै भने, ‘यस्तो मुर्खतापूर्ण कुरा नगर न लोखर्के एक त तिमी यति सानो छौ, तिम्रो पुछ्छर झनै सानो छ, यति सानो पुछ्छरले पानी फ्याकेर यति ठूलो विशाल पोखरी कसरी सुक्न सक्छ ।’

राजकुमारको यस्तो कुरा सुनेपछि लोखर्कोले भन्यो, ‘सुन राजकुमार पहिले मलाई यो बताउन देउ कि मैले यो पोखरी किन सुकाउदै छु । पोहेर साल यो पोखरीले मेरा दुई सन्तानलाई डुबाएर मार्यो । त्यो बेला त मैले यसलाई ठिकै छ भनेर माफी दिए तर यस पटक त यसले मेरो एक मात्र साहरा श्रीमतीलाई समेत डुबाएर मार्यो । आज म यसलाई छोड्ने वाला छैन । यसलाई सुकारै छोड्छु ।’

लोखर्केको यस्तो वेनापूर्ण कुरा सुनेर राजकुमारलाई दया लाग्यो । तैपनि उनले लोखर्केलाई उपदेश दिने मनसायले भने, ‘हेर लोखर्के तिम्री श्रीमती मरिन भने त अर्की श्रीमती बिहे गरेर बस्ने पो होत । तिमी यति सानो प्राणीले यति ठूलो पोखरी सुकाउछु भनेर सुक्छ त ?’ सिदुदार्थ राजकुमार यस्तो कुरा सुनेपछि लोखर्केलाई झोक चल्छ । अनि उसले उनी तिर हेर्दौ भन्छ, ‘सुन राजकुमार मेरो प्रयासले यो पोखरी सुक्छ अथवा सुक्दैन त्यो दोस्रो कुरा हो तर म मेरो अठोटबाट पछाडि हट्दिन ।’

लोखर्केको यस्तो कुराले सिद्धार्थ राजकुमारको घैटोमा घाम लाग्छ । उनी झल्यास्स बिउझे जस्तो भए । ‘मलाई ज्ञान प्राप्त होस् अथवा नहोस् । मैले बिचैमा तपस्या किन भंग गरे । वास्तबमा एउटा लोखर्के त आफ्नो निर्णयको धेरै कटिबद्द छ भने म चाहीँ किन आफ्नो निर्णयबाट पछाडि हट्ने । मैले त ठूलो गल्ती गरेछु ।’ उनले मनमनै सोचे र पुनः तपस्या स्थलमा फर्किएर तपस्या गर्न सुरु गरे ।

तसर्थ, हामी सबैले लोखर्केले जस्तै कर्म गर्नुपर्छ तर फलको आशा राख्नु हुदैन । कुनै पनि काम सुरु गर्नु ठूलो कुरा होइन । कुनै पनि काम सुरु गरेपछि त्यसलाई पूर्णता दिनु, दिन रात एक गरेर महिनेत गर्नु नै ठूलो कुरा हो । कर्म गरेपछि भने जस्तो सफलता नपाइए पनि सन्तोष भने अवश्य पाइन्छ ।