राजीनामा दिदै रवि लामिछाने, सर्वोच्चको फैसला पछि दिए यस्तो प्रतिक्रिया

शुक्रबार, १३ माघ २०७९

काठमाडौं – सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले बताए ।

सिंहदरबारमा रहेका लामिछाने राजीनामा बोकेर बालुवाटार हिडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो ।

बालुवाटार जानेक्रममा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै लामिछानेले अदालतको फैसाला स्वीकार्ने बताएका छन् ।