‘ट्युसन फि’ फिर्ता गर्न मान्दैन अस्ट्रेलियाको ‘SISTC’ कलेज
काठमाडौँ – अस्ट्रेलियाको सिड्नी इन्टरनेशनल स्कूल अफ टेक्नोलोजी एण्ड कमर्श (SISTC) ले विद्यार्थीको ‘ट्युसन फि’ फिर्ता गर्न अटेरी गरेको पाइएको छ । भर्नाका लागि कलेजको बैंक खातामा जम्मा गरेको ‘ट्युसन फि’ भिसा नलागेपछि फिर्ता माग्दा फिर्ता गर्न अटेरी गरेको पाइएको हो ।
कलेजले जुन/जुलाई तथा अक्टोवर/डिसेम्वरमा भिसा एप्लाई गरेर भिसा रिजेक्सन भएका विद्यार्थीको पैसा फिर्ता गर्न अटेरी गरेको हो । भिसा रिजेक्सन भएको ३ देखि ७ महिना पुगीसक्दा पनि विद्यार्थीको पैसा फिर्ता नभएपछि शैक्षिक परामर्श व्यवसायीहरु मर्कामा परेका छन् । अस्ट्रेलियाको कानुन अनुसार भिसा रिजेक्सन भएपछि विद्यार्थीले पैसा फिर्ता माग गरेको २८ दिनभित्र विद्यार्थीको खातामा पैसा फिर्ता गर्न पर्छ । बंगालादेशी नागरिकको लगानी रहेको उक्त कलेजले कानुनको उल्लङ्घन गर्दै पैसा फिर्ता गर्न अटेरी गरेको हो ।
‘मैले लामो समयसम्म पैसा फिर्ता माग्दा कलेजले वास्ता गरेन । इमेल गरेको ४ महिनासम्म पनि इमेलको जवाफ नआएपछि मैले धम्कीपूर्ण इमेल लेखें ।’, एक शैक्षिक परामर्श व्यवसायीले मोटिभेट न्यूजसँगको कुराकानीमा भने, ‘मैले तपाईँको कलेजको एनओसी रोकिदिन्छु । नेपालका सम्पूर्ण एजेण्टलाई विद्यार्थी नदिन भन्दै इमेल गरिदिन्छु भनेर धम्किपूर्ण इमेल लेखेपछि इमेलको जवाफ दियो ।’
धम्की दिएपछि एक जना विद्यार्थीको ट्युसन फिर्ता गरेको बताउँदै शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा रहेका ति व्यवसायीले भने, ‘त्यति गर्दा बल्ल बल्ल मेरो एक जना विद्यार्थीको ट्युसन फि फिर्ता गरिदिएको छ । बाँकी विद्यार्थीको अझैं बाँकी छ । जुन/जुलाई देखि आजसम्म विद्यार्थी कति समस्यामा पर्यो । हामीलाई विद्यार्थी र उसको अभिभावकले कति टचर दिएको होला ? अनुमान गर्न पनि सक्नुहुन्न ।’
कलेजले धेरै विद्यार्थीको भिसा रिजेक्सन भएकाले विद्यार्थीको ट्युसन फि फिर्ता गर्न समय लागेको जनाएको छ । तालिका अनुसार भुक्तानी गर्दा ढिलाई भएको कलेजका प्रतिनिधिलाई उदृढ गर्दै एक व्यवसायीले बताए । कलेजका प्रतिनिधिलाई सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।