सभामुखद्वारा संसद्मा लामिछानेको सांसद पद रिक्त भएको जानकारी

बुधबार, १८ माघ २०७९

काठमाडौँ— सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन – २ बाट निर्वाचित भएका थिए ।

सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ ।

संवैधानिक र कानुनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेको पनि सभामुख घिमिरेले सुनाए ।

चितवन – २ बाट निर्वाचित सांसदको पद गुमेसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गराउनुपर्ने हुन्छ । ६ महिना भन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएका उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।