आफ्नै पार्टी भित्रका मान्छेबाट रविको खुट्टा तान्न सुरु

बुधबार, १८ माघ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आफ्नै पार्टी भित्रका मान्छेहरुबाट खुट्टा तान्न सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर नछाडेको टिप्पणी गरेपछि पार्टी भित्रैबाट खुट्टा तान्न सुरु गरिएको चर्चा हुन लागेको हो । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर छाडेका छैनन् ।

सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि सांसदको पद गएको थियो  । उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् ।

पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘पुराना दल ठिक भएनन् भनेर हामीले नयाँ संस्कार सिकाउन राजनीति थाल्यौँ’ कार्कीले भने, ‘तर, हामी पुरानो दलभन्दा फरक हुन सकिएन । यो दुःखद पक्ष हो ।’ मन्त्री पदबाट राजीनामा दिने बित्तिकै मन्त्री क्वार्टर छोडेको भए सारै राम्रो हुने भन्दै कार्कीले दुःख व्यक्त गरे ।