रविलाई गृहमन्त्री बनाउन ओलीले चर्को दवाव दिएपछि प्रचण्डले फर्काए मुखभरिको जवाफ
काठमाडौँ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकता नहुँदा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृह मन्त्रालयमै ल्याउन दिएको सुझावको मुखभरिको जवाफ फर्काएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलालाई चुनौती दिनेगरी कुनै काम नगर्ने यसबारे कानुनविदहरुसँग सल्लाह गरेर मात्रै निर्णय लिने र कसैको दवाबमा अदालतको फैसलाको बिरुद्ध जान्न भन्दै उनको सुझावाको जवाफ फर्काएका हुन्।
बुधवार भएको भेटमा ओलीले संविधान, कानुनको कुराभन्दा पनि विगतमा भएको समझदारीलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेका थिए।
‘कानुन र संविधानले के भन्छ भन्ने कुरा होइन,’ अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भेटमा भने, ‘रविजीको पार्टीलाई गठबन्धनमा ल्याउँदा हामीले जे समझदारी गरेका थियौँ, त्यहीअनुसार कार्यान्वयन गर्नुपर्छ। यसो(उसो भनेर रोक्न मिल्दैन।’
जवाफमा प्रधानमन्त्रीले अदालतको आदेशलाई मानमर्दन गर्नेगरी कुनै निर्णय गर्न नहुने बताएका हुन्।
अदालतको आदेश हेर्नुपर्यो, अहिलेसम्म फूल टेक्स्ट आएको छैन। अहिले नै हतार गरेर त्यही मन्त्रालयमा ल्याउनु कानुनलाई नमानेको, मानहानि गरेको हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘संविधानको खिलाफमा हामी जान हुन्न। त्यसमाथि उहाँको रवि पार्सपोर्टको कुरा पनि रहेछ, त्यसमा फौजदारी अभियोग लाग्ने(नलाग्ने हेर्नुपर्यो।’
प्रधानमन्त्रीको कुरा सुनेपछि फेरि एमाले अध्यक्ष ओलीले बहाना गरेर गठबन्धन दललाई बिच्काउन नहुनेमा सचेत गराएका थिए।
तर प्रधानमन्त्री प्रचण्डले कुनै व्यक्तिका लागि नभई कानुनी व्यवस्थालाई ख्याल गरेर चल्न खोजेको कुरा राखे।
सरकार संवैधानिक व्यवस्था अनुसार चल्छ, कसैलाई चित्त नबुझ्न पनि सक्छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै माओवादी महासचिव देव गुरुङले भने, अदालतको फैसला र आदेशलाई राज्यका सबै अंगले मान्नुपर्छ। सरकार गठन हुँदा मैले उहाँ रविलाई गृह दिएको होइनर ? अहिले त अदालतको फैसला भएपछि परिस्थिति फेरियो।’
एमाले अध्यक्ष ओलीले फेरि रविले मागेकै मन्त्रालय नदिएर गठबन्धनमा समस्या नपार्न प्रचण्डलाई सुझाव दिए।
‘मलाई लाग्छ गठबन्धनलाई समस्या पार्ने गरी तपाईंले कुनै कदम चाल्नुहुन्न, हामीले यो गठबन्धनलाई अलि परैसम्म लैजाने सोचेका छौँ ओलीले भने, ‘यसमा सोच(विचार गरेर छिट्टै निर्णय गर्नुहोला।’
रविलाई गृह मन्त्रालयमै फर्काउन चौतर्फी दबाब आएको ब्रिफिङ आफ्ना नेताहरुसँग प्रचण्डले गरेका छन्।
बुधबार विहान पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासविव देव गुरुङसँग प्रचण्डले सो कुरा बताएका हुन्।
‘रविजीलाई नै गृह मन्त्रालयमा फर्काउन सबैतिरबाट दबाब आएको छ,’ मैले नियम र कानुनले अहिले फर्काउन नमिल्ने भनेको छु, प्रचण्डको भनाई उद्धृत गर्दै गुरुङले भने, ‘पात्र र मन्त्रालय चेन्ज गरौँ भन्ने सुझाव हामीले पनि दिएका छौँ।’