सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

सोमबार, २३ माघ २०७९

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। ‘‘सो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’’ उनले भने ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी दुई वा सोभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । उनले माघ २६ गतेभित्रै विश्वासको मत लिनुपर्नेछ ।

मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे विश्वासको मत लिनुहुने नेकपा (एमाले) का प्रदेश सचिवसमेत रहनुभएका प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए। उनले सत्ता साझेदार सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने उल्लेख गरे । नेकपा (एमाले) का रावल सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बीचमा नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने जिकिर गर्दा मुख्यमन्त्री केही दिन अलमलिएका थिए ।