पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुनुको तथ्य भेटियो
काठमाडौं – १ माघ २०७९ मा पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज दुर्घटना हुनुको तथ्य भेटिएको छ । (एन–एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएपछि दुर्घटना जाँच आयोगले जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको तथ्य फेलापारेको हो ।
एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ । जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन । त्यसबेला जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ । यसरी जहाज दुर्घटनामा परेको आयोगले जनाएको छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिंगापुर गएका थिए । उनीहरु अनुसन्धान र विश्लेषणपछि नेपाल फर्किएका छन् ।
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ । सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट र प्राविधिक पक्षको थप अध्ययन समेत भएको छ ।