राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउने छौं– शेखर कोइराला

मंगलबार, २४ माघ २०७९

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउने कुरा बताएका हुन्। उनले सो निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र न्य दलहरूसँग सहमति गरेर उक्त उम्मेदवारलाई जिताउने दाबी गरेका हुन्।

कोइरालाले नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै भने, ‘२५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला। राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ। कांग्रेसकै उम्मेदवारले जित्छ।’

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए। ‘अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन,’ उनले भने। उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए। ‘हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं,’ उनले भने।