कांग्रेसले भन्यो : ‘मन्त्री अधिकारी भद्र र सुयोग्य

बुधबार, १५ फाल्गुन २०७५

 

फागुन १५, काठमाडौं– ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएकोप्रति कांग्रेसले दु:ख व्यक्त गरेको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको कांग्रेसले बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको उल्लेख गरेको छ ।

‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो ।’ – विज्ञप्तिमा उल्लेख छ ।

 

फागुन १५, २०७५
शोक विज्ञप्ति
ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ । विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो । 

उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । 

यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के।सी। र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ । 

दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु । 

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु । 
शेरबहादुर देउवा
सभापति