एक महिनापछि बल्ल पाउने भयो लुम्बिनी प्रदेश सरकारले पूर्णता
काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले एक महिनापछि बल्ल पूर्णता पाएको छ। सत्ता गठबन्धनमा रहेका चार दलबीच मन्त्रालय भागबन्डामा सहमति नमिल्दा अपूर्ण रहेको लुम्बिनी प्रदेश सरकारले बल्ल एक महिनापछि पूर्णता पाएको हो। मुख्यमन्त्री नियुक्तिको एक महिनापछि मन्त्रिपरिषद विस्तार भएको छ ।
गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २८ मा शपथ लिएका थिए। सोही दिन उनले २ जना मन्त्री नियुक्त गरे पनि जिम्मेवारी तोकेका भने थिएनन्।
नेकपा माओवादीकी कृष्णा केसीले चित्तबझुद्दो मन्त्रालय नपाएको भन्दै शनिबार राजीनामा दिएकी थिइन्। उनलाई विनाविभागीय मन्त्री बनाइएको थियो। तर उनको राजीनामा स्वीकृत भएको थिएन। केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एमालेका ५ जना, माओवादीका ३ जना, राप्रपा र जनमत पार्टीबाट एकरएक जना नियुक्त भएका छन्।
एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, विष्णुप्रसाद पन्थी स्वास्थ्य मन्त्रालय, दुर्गाप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय र तुलसीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको हो।
माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिला मन्त्रालय, ईन्द्रजित थारु भैतिक पूर्वाधार विकास मन्त्रालय, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादवलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।
नयाँ मन्त्रीहरुको शपथ आइतबार दिउँसो १ बजे हुनेछ।
