आफु पनि काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय छन्ः ओली
काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा काम नगर्ने र अरुलाई पनि गर्न नदिने तत्वहरु सक्रिय रहेको बताएका छन । अहिले सरकार ढाल्ने षडयन्त्र भइरहेको उनको भनाइ छ ।
आइतवार गृहनगर झापाको दमकमा आउनुभएका ओलीले अनेक प्रकारका षडयन्त्र भइरहेको बताए । सो षडयन्त्रलाई चिर्दै अघि बढ्ने शक्ति सरकारमा रहेकाले निराश नहुन आग्रह गरे।
देशलाई अघि बढाउने र विकास पक्षधर शक्ति पनि सरकारमा भएकाले निराश हुनुपर्दैन, ओलीले भने । यो सरकारले जनभावनाअनुसार काम गरेर देशका समस्या समाधान गर्ने अध्यक्ष ओलीले प्रष्ट पारे ।
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी समस्या, तटबन्धनलगायतका समस्या सामधान गर्दै लैजाने ओलीले बताए । कृषिको आधुनिकीकरण, रोजगार सिर्जनालगायतका विषयमा पनि आफ्नो ध्यान गएको उनले बताए ।
आइतबार अपरान्ह झापा आउनुभएका ओलीले अबेरसम्म विभिन्न कार्यक्रममा सहभागी भएका थिए । आइतवार बेलुका अबेर उनि दमकमा भइरहेको एक धार्मिक अनुष्ठानमा समेत सहभागी भए ।
झापाको गौरादह –४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उहाँले उद्घाटन गरे । यसैगरी आफ्नै निर्वाचन क्षेत्रको कटकपुर–खयरबारी चाँदु खोलाको पुल उद्घाटन र एक धार्मिक कार्यक्रममा सहभागी बन्नुभएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।