नेपाल राष्ट्र बैंकद्वारा नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई प्रदान

मंगलबार, २ फाल्गुन २०७९

काठमाडौं— नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई प्रदान गरेको छ । बैंकले एमएस चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशनलाई सो जिम्मा दिएको हो ।

२० रुपैयाँ दरका ३१ करोड अर्थात् ३१० मिलियन गोटा नयाँ नोट छपाइका लागि गरिएको अन्तर्राष्ट्रिय टेन्डरमा न्यून दररेट प्रस्ताव गर्ने एमएस कम्पनी छनोटमा परेको हो । सोमबार एक पत्र लेख्दै केन्द्रीय बैंकले एमएस कम्पनीलाई नोट छपाइको जिम्मा दिइएको जानकारी गराएको छ ।

प्रस्ताव अनुसार कम्पनीले ६१ करोड ८ लाख २९ हजार रुपैयाँ (४,६९८,६८५ अमेरिकी डलर) मा उक्त नोट छपाइदेखि ढुवानी गर्नेछ ।