ओलीमाथि सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप

बुधबार, ३ फाल्गुन २०७९

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाएका छन ।

आज बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको कुरा पनि बताएका छन । उनले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गरे । उनले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताए ।

उनले भने, ‘संसद् विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ । वास्तवमा संसद् विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको छ । म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । यो संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्रीज्यूले चर्चित बनाउनुभयो । नेपाली कांग्रेसले ढोक्सा थापेको होइन । संसद्को स्थायित्वको निम्ति, संसद्लाई सुरक्षित गर्नका निम्ति उभिएको हो । पूर्वप्रधानमन्त्रीज्यूले कुन जङ्गल, कुन बाघको कुरा गर्नुभएको हो? उहाँसँग के छ र लिनका लागि हामीले ढोक्सा थाप्ने? बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ? अहङ्कारले अहिलेको परिस्थिति सम्हालिँदैन । प्रधानमन्त्रीभन्दा पनि माथि सुपरप्रधानमन्त्री भएर फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ? किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ ।’

सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रूपमा चित्रित गरे। उनले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाए ।

सांसद पौडेलले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरेका छन ।