ओलीद्वारा सांसद भण्डारीको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसकी सांसद चन्द्र भण्डारीको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार राति काठमाडौंको बुद्धनगरस्थित आफ्नै अपार्टमेन्टमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका छन् । दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । आगोले घाइते भण्डारीकी आमा हरिकालाको बिहीबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सांसद भण्डारीको शरीरको झण्डै २५ प्रतिशत अनुहार, हात र खुट्टा जलेको छ भने आमाको ७० प्रतिशत शरीरमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अस्पतालले भण्डारीलाई थप उपचारका लागि देशबाहिरको राम्रो सुविधा भएको स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको छ । उनलाई बिहीबार दिउँसो श्री एयरलाइन्समार्फत भारतको मुम्बईस्थित नेशनल बर्न्स अस्पताल लैजाने तयारी भइरहेको छ ।
“प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी एलपी ग्यास सिलिण्डर विष्फोटमा परी घाइते भएको खबरले अत्यन्त मर्माहत भएको छु । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराउँछु,’ ओलीले भनेका छन् । उनले सांसद भण्डारीकी आमाको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।