क्यानडा पठाईदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ
काठमाडौं – क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका लक्ष्मण थापालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
२३ लाखमा क्यानडा पुर्याइदिन्छु भन्दै प्रलोभनमा पार्दै विभिन्न समयमा १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले थापालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै प्रलोभनमा पारेका थिए ।
उप्रतीको उजुरीको आधारमा थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । थापालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कम्बोडिया पठाइदिन्छु भनि ठगी गर्ने दैलेखको भगवतीमाई गाउँपालिका २ का तोपेन्द्र सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारिको लागि कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ उठाको आरोपमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।
प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने लाग्ने, सम्बन्धित देशमा पुगेपछि क्यासिनोमा सेक्युरिटीगार्डमा काम गर्दा मासिक १ लाख ३० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरि जम्मा रु बाह्र लाख रुपैयाँ लिई भनेको समयभित्र नपठाए पछि पटकपटक सम्पर्क गर्दा समेत सम्पर्क विहिन भई ठगी गरेको भनी जाहेरी दरखास्त परेपछि खोजतलास गर्ने क्रममा प्रहरी टोलीले निज सिंहलाई फागुन ३ गते गंगवु बिजिमहलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ (१) र (२) बमोजिमको कसूरमा कानुनी कारवाही गरी सोही संहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको काठमाडौँ अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।
