पुरुषका लागि गर्भनिरोधक चक्कीको सफल परिक्षण
एजेन्सी – वैज्ञानिकहरूले शुक्रकीटको पौडिन सक्ने क्षमता रोक्ने उपाय पत्ता लगाएका छन् । मुसामा गरिएको परीक्षणले उक्त उपायले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको थियो। त्यति समय शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन र गर्भ बस्न नदिन पर्याप्त हुने परिक्षणले देखाएको विविसीले जनाएको छ ।
यो परिक्षण पछि गर्भ निरोधका लागि पुरुषहरूले सेवन गर्ने चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बैज्ञानिकहरुले बताएका छन् । उनीहरूका अनुसार यो प्रयोगमा त्यस्तो कुनै पनि हर्मोन प्रयोग गरिएको हुँदैन र माग भए उत्पादन गर्न सकिन्छ।
तर मानवमा परीक्षण गर्नुअघि धेरै चरणमा अरू परीक्षण हुन बाँकी नै छ। मानवका लागि उपलब्ध भए पुरुषहरुले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि यस्तो चक्की सेवन गर्न सकिने उनीहरुको भनाई छ । तर उनीहरुले औषधि कति बेलासम्म प्रभावकारी हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ।
यो औषधिले कसरी काम गर्छ
महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधक चक्कीमा हर्मोन प्रयोग गरिएको हुन्छ। तर पुरुषका लागि अनुसन्धान भइररहेको औषधिमा कुनै पनि हर्मोन हुँदैन। आफूले अन्वेषण गरिरहेको विषयका लागि यो एउटा सबल पक्ष भएको वैज्ञानिकहरू बताउँछन्। किनभने यो औषधिले टेस्टस्टरोनलाई दमन गर्दैन र शरीरमा पुरुष हर्मोनको कमी हुनेजस्तो दुष्प्रभाव पार्दैन।
बरु वैज्ञानिकहरूले लक्ष्य बनाउन खोजेको ूस्विचू शुक्रकीटको पौडिने क्षमता हो। त्यो स्विच वास्तवमा कोषीय सङ्केतको एउटा प्रोटीन हो। त्यसको नाम ‘सल्यबल एडिनाइलिल साइक्लेज’ (एसएसी) हो। मुसामा गरिएको अध्ययनमा TDI-11861 नामक औषधिको एक मात्राले सम्भोगअघि, सम्भोगका क्रममा र सम्भोगपछि पनि शुक्रकीट गतिहीन बनेको पाइयो।
उक्त अध्ययन गर्न यूएस न्याश्नल इन्स्टिट्यूट्स अफ हेल्थले आर्थिक सहयोग उपलब्ध गराएको थियो। नेचर कम्यूनिकेशन्स जर्नलमा यसबारे शोधपत्र प्रकाशित भएको छ। उक्त औषधिको प्रभाव झन्डै तीन घण्टासम्म रह्यो। चौबीस घण्टा हुँदा प्रभाव पूर्णतः हराएको थियो। त्यसपछि भने नयाँ शुक्रकीटहरू सामान्य रूपमा आफ्नै गतिमा अघि बढेको पाइयो।
यो अनुसन्धानमा संलग्न एक वैज्ञानिक डा। मेलनी ब्याल्बाकका अनुसार यो औषधि सजिलै प्रयोग गर्न सकिने र प्रभाव उल्ट्याउन मिल्ने चक्की बन्न सक्छ। यदि यसले मानिसमा साँच्चै काम गर्यो भने चाहिएको खण्डमा पुरुषहरूले यो औषधि प्रयोग गर्न सक्छन्। अनि पुरुषहरूले आफ्नो सन्तान जन्माउने क्षमताबारे दैनिक निर्णय पनि गर्न सक्छन्।