जनमोर्चाका अध्यक्ष केसीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको र रहिरहने कुरा बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।
प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुनेगरि शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिए जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताए। सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्री प्रचण्डको अडानले नै मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताए।