जनताको सुखदु:खकाे साथी नेकपा हाे : नेता भीम
सल्यान – नेपाल कम्युनिस्ट पार्टी सल्यानले लघुवित्त संस्थाहरुकाे ज्यादती र बैंकहरुले उपभोक्ता ऋणीहरुलाई लादेकाे चर्काे व्याजकाे विरुद्धमा जनप्रदर्शन गरेको छ । पार्टीकाे उत्तर सल्यान जिल्ला समितिकाे आयोजनामा कुमाख गाउँपालिका र दार्मा गाउँपालिकाकाे सिमाना माैलाेहाले बजारमा आयाेजित विरोध कार्यक्रमलाई नेकपाका केन्द्रीय प्रतिनिधि कमरेड भीम सीले सम्बाेधन गरेका थिए ।
उनले ‘जनताको सुख दुःखकाे साथि, नेपाल कम्युनिस्ट पार्टी’ भएकोले जनताका हरेक समस्यामा याे पार्टीले आवाज उठाउने बताए । जनताको सुखदुःखकाे साथि आफ्नो पार्टी मात्रै भएको भन्दै जनता तथा साना व्यवसायीहरुलाई सताइरहेका लघुवित्त तथा चर्काे व्याज असुल्ने बैंकहरुकाे ज्यादतीका विरुद्ध आफ्नो पार्टी बाेलेकाे बताए ।
पार्टीका केन्द्रीय प्रतिनिधि भीम सीले भने, ‘बैंक र वित्तीय संस्थाहरुले जनतालाई आत्महत्या समेत गर्ने अवस्थामा पुर्याउदा देशका अरु कुनै पार्टीहरुले केही गरेका छैनन् तर हाम्रो पार्टीले जनताको पक्षमा संघर्ष गरिरहेकाे छ।’
नेपालका अरु पार्टीहरु दलाल पुँजिपति वर्गका मतियार भएकोले जनता सताउने कृयाकलापकाे विरुद्धमा बाेल्ल नसकेको बताउँदै उनले भने, ‘नेपालका संसदीय पार्टीहरु दलाल पुँजिपतिका मतियार भएको हुनाले बैंक, वित्तीय संस्थाहरुकाे चर्काेव्याज तथा मिटरव्याजीहरुकाे विरुद्व चुइक्क समेत बाेल्न सकेका छैनन् ।’
पार्टीद्वारा आयाेजित साे विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका जिल्ला सचिव कमरेड मदन सीले जनताको समस्यामा बाेल्ने र जनताको माझमा रहेको पार्टी नेपालमा नेपाल कम्युनिस्ट पार्टी मात्रै भएको बताए । विरोध कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य कमरेड माेहन सी, विद्यार्थी नेता अनिल सी लगायतले सम्बाेधन गरेका थिए ।
विरोध कार्यक्रमकाे संचालन अखिल क्रान्तिकारीका सल्यान जिल्ला अध्यक्ष राजेन्द्र सीले गरेका थिए ।