राष्ट्रपतिको लागी ठाकुरको नाम लिएर देउवालाई भेट्दै लोसपाका नेताहरू

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं— लोसपाका नेताहरू महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरु देउवालाई भेट्न धुम्वाराही पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेसलगायतका दलले राष्ट्रिय सहमतिमा जोड दिइरहेको बेला त्यसका लागि उपयुक्त पात्र ठाकुर भएको भन्दै राष्ट्रपतिका लागि समर्थन गर्न लोसपा नेता र देउवा बिच भेटवार्ता भएको हो । भेटमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि थिए । देउवा निवासबाट बाहिरिँदै लोसपा नेता शरदसिं भण्डारीले कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

देउवाको भनाई उद्धृत गर्दै पत्रकारसँग उनले भने, ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ(हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डबाट बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो । उनले थपे, ‘सालिन भद्र व्यक्तित्व सबैले विश्वास गरेको र डेलिगेटेड मान्छे हुनुपर्‍यो । निषेधको राजनीतिले गर्दा पोल्टिकल क्राइसिस नआवस् ।’

लोसपाका नेताले हिजोमात्र प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । भण्डारीले आफूहरू बालकोट पनि पुगेको जानकारी गराउँदै संसदमा रहेका सबै दलसँग आग्रह गर्ने जानकारी दिए ।