राष्ट्रपतिको उम्मेदवार शनिबारसम्ममा टुंगो लाग्छः प्रधानमन्त्री

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं— नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारसम्ममा राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि दाहालले यस्तो टिप्पणी गरेका हुन् । बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादी नेता घनश्याम भुसालको पनि सहभागिता थियो ।

भेटपछि पत्रकारसँग कुरा गर्दै दाहालले फागुन २५ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने बताए । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन २५ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। निर्वाचनपूर्व गठबन्धन पुनर्जीवित हुँदैछ भनी सोध्दा दाहालले अहिलेसम्म टुंगो नलागेको बताए । भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दाहाललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताए । जवाफमा दाहालले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफू तयार रहेको बताएको तर अन्य दलसँग छलफल गर्नुपर्ने बैठकमा उपस्थित एक नेताले बताए । भेटपछि नेपालले पत्रकारसँग अहिले विभिन्न विकल्प रहेको र ती सबैमा छलफल भइरहेको बताए ।

राष्ट्रपतिको उम्मेदवार बन्ने भन्ने प्रश्नमा नेपालले छलफल भइरहेको बताए । ‘अहिले हामीसँग बिभिन्न विकल्प छन्, देशको हितमा जुनसुकैलाई छनोट गर्छौं,’ नेपालले भने, ‘राष्ट्रपति को बन्ने भन्दा पनि देशको हित कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । बैठकमा एकीकृत समाजवादीका नेता भुसालले चुनावपूर्व गठबन्धन पुनर्जीवित गर्ने हो भने आफ्नो पार्टीको भूमिका स्पष्ट हुनुपर्ने बताए ।

दाहालले ती सबै विषयमा नेपाली काँग्रेसलगायत अन्य दलसँग छलफल गर्नुपर्ने जवाफ दिए । बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच निर्वाचनपूर्व गठबन्धनलाई पुनर्जीवित गर्ने अनौपचारिक सहमति भएको हो । सहमतिलाई औपचारिकता दिन विभिन्न दलले अन्तरदलीय र अन्तरदलीय छलफल गरिरहेका छन् ।