अझै मरेको छैन लोसपाको आस
काठमाडौं— राष्ट्रपतिको उम्मेदवार चयनका लागि रस्साकस्सी चलिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले अझै पनि आस मारेको छैन ।
राजनीतिक दलहरूबीच राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिलेसम्म कुनै पनि सहमति हुन सकेको छैन । यस्तोमा लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले अहिले पनि सर्वसम्मत राष्ट्रपति उम्मेदवारको रेसमा महन्थ ठाकुर रहेको दाबी गरे । ‘हामीले आफ्नो अध्यक्ष ठाकुरजीलाई अल्पमत वा बहुमतको उम्मेदवारभन्दा पनि सर्वसम्मत राष्ट्रिय सहमतिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘विभिन्न दलहरूबीच छलफल भए पनि पात्रको विषयमा अहिलेसम्म सहमति नभएको हुनाले ठाकुरजीको सम्भावना पर्सि बिहानसम्म हुन्छ ।’
खास गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी ९एस०का अध्यक्ष माधवकुमार नेपालको नाम उछालेको भए पनि औपचारिक प्रस्ताव नगरेको उनले बताए । ‘ओलीजीले माधव नेपालजीको नाम उछालेको भन्ने कुरा छ । तर, यस विषयमा हालसम्म एमालेले औपचारिक निर्णय गरेको छैन,’ उनले थपे, ‘माधवजीको नाममा सर्वसम्मति नहुने अवस्थामा एमालेले ठाकुरजीको नाम प्रस्ताव गर्न सक्ने सम्भावना अझै पनि जीवित नै छ । ‘खास गरेर एमालेले आफ्नो सरकार बचाउन तथा अहिलेको सत्ता गठबन्धन जोगाउन महन्थ ठाकुरको नाम प्रस्ताव गर्न सक्ने उनले बताए । ’त्यसका लागि प्रचण्डजी तयार हुनुपर्छ,’ उनले भने, ‘एमालेको वा नेपाली कांग्रेसको राष्ट्रपति हुँदा आफू दबाबमा पर्न सक्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूलाई लागेमा एमालेको प्रस्ताव तथा प्रधानमन्त्रीको समर्थनमा सर्वसम्मत राष्ट्रपतिको उम्मेदवार ठाकुरजी बन्न सक्नुहुन्छ ।’