फागुन १ गते हिंसा दिवसलाई जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिनु दु:खद: ओली

बिहिबार, ११ फाल्गुन २०७९

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते गते हिंसा दिवसलाई जनयुद्ध दिवस भनेर मनाउनु दु:खद भएको बताएका छन् ।

नेपाल अफ्रो–एसियाली जनएकता संगठन तथा हिरण्य अन्तर्राष्ट्रिय मैत्री पुस्तकालयले आयोजना गरेको  नेपाल–बंगलादेश बुद्धिष्ट रिलेसन्स’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले फागुन १ गते गते हिंसा दिवसलाई जनयुद्ध दिवसका रुपमा सार्वजनिक विदा दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा आयोजित पुस्तक विमोचन कार्यक्रममा ओलीले फागुन १ गते हिंसा दिवस भएको टिप्पणी गर्दै उक्त दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय दु:खद भएको  बताए । उनले भने, ‘त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्‍यो ? आकस्मिक रुपमा त्यो किन गर्नुपर्‍यो ? आफैंले त्यो बाटो छाडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ?

सरकारले गत माघ २९ गते नै फागुन १ गते विदा दिने निर्णय गरेको भए पनि एमाले अध्यक्ष ओलीले ११ दिनपछि बिहीबार पहिलो पटक सार्वजनिक रुपमा त्यो निर्णयको विरोध गरेका हुन्  ।