माओवादी अहिलेको गठबन्धन बदल्ने निष्कर्षमा पुगिसकेको छैनः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ— नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् सरकारका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धन बदल्ने निष्कर्षमा पुगिनसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग बिहीबार सिंदरबारमा सम्वाद गरेर बाहिरिँदै श्रेष्ठले भनेका छन्, ‘हामी सबैसँग छलफल गर्दैछौं, गठबन्धन परिवर्तन निश्कर्षमा पुगिसकेको छैन ।’
तर श्रेष्ठलाई नै साक्षी राखेर प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको भेटघाट र त्यहाँ भइरहेको सम्वादले भने गठबन्धन परिवर्तनलाई औपचारिकता दिन मात्रै बाँकी देखिन्छ । आज, दिनभर देखिएको दृष्यले समेत एमाले नेतृत्वमा दुई महिना अगाडि बनेको गठबन्धन जोगाउन अब मुस्किल रहेकै पुष्टि हुन्छ ।
राष्ट्रपतिको मनोनयन दर्ता हुनु दुई दिन मात्रै बाँकी रहँदा बिहीबार प्रमुख सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रका नेतृत्वबीच कुनै छलफल भएन । एमाले अध्यक्ष केपी शर्मा ओलीले ७२औं जन्मदिन मनाउन र आफ्नै नाममा चलेको फुटबलमा समय बिताए ।
प्रधानमन्त्री प्रचण्ड भने नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन सक्रिय रहे । १० पुस अघिको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठक अन्तिम समयमा स्थगित भएपनि प्रचण्ड द्विपक्षीय सम्वादमा दिनभर व्यस्त रहे । साँझ जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरुसँग प्रचण्डले सामुहिक छलफल गरेका थिए ।
जबकी अहिलेकै सत्तारुढ गठबन्धन जोगाउन प्रचण्ड चाहन्थे भने बुधबार ओलीले राखेकै प्रस्तावमाथि थप छलफल हुनसक्थ्यो । एमाले नेताहरुका अनुसार, प्रचण्डलाई ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर जाने प्रस्ताव राखेका छन् । तर पुरानै गठबन्धन ब्युताउन कांग्रेस, जसपा र एकीकृत समाजवादीका नेताहरुसँग निरन्तर छलफल गरिरहेका प्रचण्डले एमालेसँग शुक्रबार मात्रै कुराकानी हुने बताए । प्रचण्डले ‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ’ भनेका छन्।