चार दलीय गठबन्धनको निर्णायक बैठक बालुवाटारमा

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक सुरु भएको छ। बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।

पुरानै गठबन्धन ब्युँताउने तथा राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने विषयमा लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।

उपराष्ट्रपतिका लागि जसपाले दाबी गरेको छ। अन्य दलको समर्थन रहेको छ। एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दाबी गरेपनि चार दल भित्रैबाट एकजना राष्ट्रपति बनाउने विषयमा सहमत भएको छ ।

शक्ति बाँडफाँटमा कुरा मिल्दा राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न सकिने संकेत एकीकृत समाजवादीले दिएको कांग्रेस नेताहरू बताउँछन्। सत्ता गठबन्धन समेत फेरिने भएकाले बाँकी विषयमा अहिलेको बैठकले टुंगो लगाउनेछ ।

यसअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीसँग समेत दुई घण्टा छलफल गरेका थिए ।