माधव नेपाललाई सम्बोधन गर्दै केपी ओलीले पठाए पत्र

शनिबार, १३ फाल्गुन २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् । राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै ओलीले पत्र लेखेका हुन् ।

शनिबार लेखिएको पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ । ‘राष्ट्रियसभा, प्रतिनिधिसभा, र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा। सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ ।

शनिबार विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपति पदमा नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उसले आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।