जेनेभा भ्रमणको लागि एयरपोर्ट जानै लाग्दा परराष्ट्र मन्त्रीलाइ प्रधानमन्त्रीले एक्कासी रोकिदिएपछि
काठमाडौँ – जेनेभा भ्रमण जान तयारी गरिसकेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्।
मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा जेनेभा उड्न लागेकी पौड्याललाई अन्तिम समयमा आएर प्रधानमन्त्रीले रोकिदिएको बताएकी हुन्।
सांझा ६ बजे जेनेभा उड्न लागेकी मन्त्री पौड्याललाई दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि उनको भ्रमण रोकिएको हो।
‘मलाई बिहान प्रधानमन्त्रीज्यूले फोन गरेर तपाईं कहिले जेनेभा जाँदै हुनुहुन्छ भनेर सोध्नुभएको थियो। मैले आज जाँदैछु भनेकी थिएँ। उहाँले खबर गर्छु भन्नुभएको थियो,’ भ्रमण रोकिएपछि संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री पौड्यालले भनिन्,‘दिउँसो साढे ३ बजेतिर म विमानस्थल जाने तयारीमा रहेका बेला मुख्यसचिवको मन्त्रालयमा फोन आयो, परराष्ट्र मन्त्री नजानुहोला भनियो।’
आफूलाई अपमानित गर्ने गरी फोन आएपछि विमानस्थल नगएको पौड्यालले बताइन्।
यसअघि बिहान ११ बजे पत्रकार सम्मेलन गरेर मन्त्री पौड्यालले आफू जेनेभा जान लागेको जानकारी दिएकी थिइन्।
आफ्नो भ्रमण अन्तिम समयमा किन रोकिएको भन्नेबारे आफूलाई कुनै जानकारी नदिइएको पौड्यालले बताइन्।