कारागारबाट रिहा भए पल, कष्टकर समयमा साथ दिएको भन्दै सबैलाई दिए धन्यवाद

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं— कारागारबाट रिहा हुँदै गर्दा अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद’ भने। परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।

कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ ।

काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भए ।

उनका निकट साथीहरुका अनुसार छिट्टै फिल्ममा फर्किने पलको चाहना छ । तर साथीहरुले केही समय आराम गरेर मात्र अभिनयमा फर्कन सुझाव दिएका छन् ।