गोविन्द बन्दीलाई प्रधानमन्त्रीको शान्ति तथा मानवअधिकार सम्बन्धी सल्लाहकारको दर्जा

मंगलबार, १६ फाल्गुन २०७९

काठमाडौं— मानव अधिकार परिषद्को ५२ औँ बैठकमा भाग लिन जेनेभा पुगेका गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई प्रधानमन्त्रीको शान्ति तथा मानवअधिकार सम्बन्धी सल्लाहकारको दर्जा दिइएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका शान्ति तथा मानवअधिकार सल्लाहकार बन्दीले मानव अधिकार परिषद्को ५२औँ सभाको नियमित उद्घाटन सत्रमा सहभागिता जनाएको बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौडेलको भ्रमण स्थगित गर्दै बन्दीलाई पठाएका थिए । सन २०२० अक्टोबरमा तीन वर्षलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल चुनिएको थियो।

सोमबार नेपालको जेनेभाको स्थायी मिसनले एक प्रेस रिलिजबाट कोइराला सहभागी भएको उल्लेख गरेको छ। आगामी अप्रिल ४ सम्म चल्ने उक्त सभामा भोलि बन्दीले परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको समेत जनाइएको छ ।