कस्ता छन् दुर्गा प्रसाईँको महाअभियानले अघि सारेको १५ माग?
काठमाडौं— मेडिकल व्यापारी दुर्गा प्रसाईँको नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ महाअभियानले १५ वटा माग अगाडि सारेको छ।
प्रसाईँले महाअभियानका माग पूरा नभएसम्म सडक आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएका छन्। उनले सम्पूर्ण नेपालीहरूलाई फागुन २० गतेबाट यस आन्दालेनमा सहभागी हुनपनि अनुरोध गरेका छन्।महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुर राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागू गर्नुपर्नेजस्ता माग राखेको छ।
यही फागुन १ गतेबाट प्रसाईँले झापाबाट महाअभियानको सुरु गरेका थिए। अभियानको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका थिए। नेकपा एमालेले पार्टी विरोधी कार्यक्रम गरेको भन्दै उनलाई पार्टीबाट निष्कासित गरिसकेको छ। उनी एमालेका केन्द्रीय सदस्य रहेका थिए।
महाअभियानका मागहरूः
१. राष्ट्रलाई सेतो हात्ती भएको संघीयता खारेज गर्नुपर्ने
२. सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने
३. गणतन्त्रको बाटो हिंड्दा अफाप सिद्ध भएका कारण २०४७ सालको सम्बिधान लागु गर्नुपर्ने
४. बैंक सहकारी र बीमा कम्पनिहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताहरूको निक्षेपलाई ध्यानमा राख्दै निक्षेप कर्ताको व्याज ६५ प्रतिशत भन्दा माथि नहुनेगरी ऋणीहरूको बिस लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकालि सुकुम्वासी बनाई सडकमा पुयाएका परिवारहरूलाई एकैठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने
५. २० लाखभन्दा माथिको ऋण ४५ देखी ५५ प्रतिशत व्याजदरमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने साथै बैंक तथा वित्तिय संस्थाबाट पत्रपत्रिकामा ३५ दिने सूचना प्रकाशन गर्ने काम बन्द गर्नुपर्ने
६. बैंकले धितो लिलाम गरि सुकुम्वासी बनाईएकाहरुको धितो फिर्ता गरि उक्त ऋणलाई पून सम्रचनागरि १५ वर्ष सम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने यसको जिम्मा सरकारले लिनुपर्ने
७. सम्पूर्ण सरकारका मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा शब्दा ०५ प्रतिशत व्याजमा राखिनुपर्ने, सरकारले एफ डि खाता खोल्न नपाउने
८. निजामति कर्मचारी र तल्लोतहका सुरक्षकर्मीहरुको तलब सुविधा कम्तिमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने
९. सर्वोच्च अदालतमा १०० जना न्याधिशहरु थप गरी जस्तो सुकै मुद्दाहरुलाई पनि २ वर्ष भित्र छिनोफानो गर्ने वातावरण गर्नुपर्ने
१०. जेल परेका कैदिबन्दिहरुलाई उच्च स्तरीय आयोग गठन गरी छानविन गरी जेल मुक्त गराई बाँकी बन्दीहरुलाई श्रम शिवीरमा रुपान्तरण गरीनुपर्ने र जेलको अवधारणा हरेक विकाश क्षेत्रमा एउटा ल्याई जेलमा विभिन्न किसिमका अध्यापन गराईनुपर्ने
११. उच्चशिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालयहरू खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने
१२. नेपालको अर्थतन्त्रमा राम्रो सहयोग हुने तथा विभिन्न रोगको लागि औषधीको रुपमा प्रयोग गर्न सकिने भएको
१३. राजाका पालामा स्थापना भएका र प्रजातन्त्र आएपछि बेचिएका सम्पूर्ण उद्योगधन्दा, कलकारखाना फिर्ता गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने
१४. बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगार सिर्जना गर्नुपर्ने
१५. नेपालमा जन्मिएर विश्वभरी छरीएर रहेका नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउनुपर्ने र वैदेशीक रोजगारीमा गएर जेल परेका र अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई आफ्नो जन्मभूमि नेपालमै फिर्ता ल्याउनुपर्ने