उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी दर्ता
काठमाडौं – आगामी चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि ४ जना प्रतिशपर्धामा उत्रिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहाय यादव, जसपाबाटै राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट ममता झाबीच प्रतिशपर्धा हुने भएको छ ।
सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी)को तर्फबाट जसपा संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाईएको छ । यदी उनको उम्मेदवारी रद्द भएको खण्डमा प्रमिलाकुमारी यादव चार दलको आधिकारिक उम्मेदवार हुनेछन् ।
निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ ।संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खसआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।
तर, निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैले जसपाबाट रामसहाय यादवसँगै प्रमिलाले पनि उम्मेदवारी दर्ता गराएकी हुन् ।