समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नेछुः नारायणकाजी श्रेष्ठ
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने कुरा सचेत गराएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएका काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेमा आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने उनको भनाइ थियो । निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुनसुकै मन्त्रालयसँग समन्वय गर्ने तर निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
श्रेष्ठले भने ‘दस वर्ष अगाडि बिड गर्ने एउटा पुलको एउटा पिलर खडा गरेर बस्न मिल्छ? राजधानीकै अगाडि यही टेकुमा एउटा पुल छ, त्यसलाई सरकारले लिन मिल्छ? बाटाघाटा सरकारलाई बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ? मलाई त अहिले निन्द्रा लाग्दैन ।ु राज्यले पनि व्यवसायीलाई समयमै भुक्तानी दिनुपर्ने उनले बताए । सरकारका तर्फबाट भएका कमजोरी भए आफूले सच्याउने तर निर्माण व्यवसायीले पनि काममा विलम्ब गरिदिन नहुने भन्दै उनले समयमै निर्माणका काम सम्पन्न गर्न निर्देशन दिए ।
ुयति कुरा तपाईँहरुसँग भन्नैपर्छ मैले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्सानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु । यो पनि म तपाईँहरूलाई खुलेर भन्न चाहन्छु । ठेक्का रद्द गर्नु बहादुरी होइन । मलाई थाहा छ । ढिलै भए पनि निर्माण व्यवसायीले काम पूरा गर्छन्, आयोजना पूरा गर्छन् भन्ने वातावरण त पाउनुपर्यो नि । जति हेर्दा पनि उस्तै उस्तै । छलछाम गर्न सकिन्छ भन्ने दिन गए,ु उनले भने ।
यस्तै उनले निर्माण व्यवसायीलाई गम्भीर भएर काम सम्पन्न गर्न आग्रह गरे । छलफल गरेर वा काम सम्पन्न गर्न संकल्प गर्न पनि उनको आग्रह थियो । उनले भने, ुजसरी मलाई निद्रा लाग्दैन तपाईंहरुलाई पनि निन्द्रा नलागोस् न । जनता, राष्ट्रलाई यस्तो हालतमा पुर्याउन म पनि जिम्मेवार छु भने तपाईँहरुलाई पिरलो होस् न । तब पो मिलेर गर्न सकिन्छ । तपाईँहरुको निम्ति म वन मन्त्रालय जानुपर्छ कि, अर्थ मन्त्रालय जानुपर्छ कि, उद्योग मन्त्रालय जानुपर्छ कि प्रधानमन्त्री कार्यालयमा जानुपर्छ सब ठाउँमा कुद्न तयार छु । आफै बसेर गर्नसक्ने काम सबै गराउन तयार छु । तर तपाईँहरुले पनि मलाई वचन दिनुपर्छ । देशको विकास निर्माणको आयोजनाको जिम्मा लिएको छु, जुन प्रकारको म्याण्डेटमा मैले काम गर्छु भनेको छु, अब म गरेर देखाउँछु भनेर तपाईँहरुको संकल्प छ कि छैन? त्यो संकल्पको आवश्यकता छ ।’ यसैबीच मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको भन्दै निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने बताए ।