माओवादीहरुको एकै स्वर, शान्ति प्रक्रिया टुंगोमा नपुग्नुको कारक एमाले हो

आइतबार, २८ फाल्गुन २०७९

काठमाडौँ – नेकपा माओवादीसहित माओवादी धारका ९ दलहरूले शान्ति प्रक्रिया टुंगोमा नपुग्नुको मुख्य कारक एमाले रहेको बताएका छन्।

आज काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलन गर्दै शान्ति प्रक्रिया टुंगोमा नपुग्नुको मुख्य कारक एमाले रहेको  बताएका हुन्।

‘द्वन्द्वकालीन मुद्दा’ अदालतबाट हेर्न नहुने बताउदै माओवादीहरुले भने, ‘विधेयक सदनमा पुगेको छ। छिटो ऐन संशोधन हुनुपर्छ। सदनबाट विगतमै ऐन संशोधन गर्ने कुरा थियो। तर दलहरूबीच सहमति भएन। नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंगाउन नकरात्मक धारणा लगातार राख्दै आयो,‘पछिल्लो समयमा एमालेकै कारण विधेयक अड्कियो र प्रक्रिया टुंगोमा पुगेन यसको कारक एमाले हो ।’

विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने र द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दाका रूपमा हेर्न नहुने तथा विभिन्न आयोगबाट टुंग्याउनुपर्ने माओवादीका महासचिव देवप्रसाद गुरूङले बताए।

उनीहरूले द्वन्द्वकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगको क्षेत्राधिकारभित्र रहने पनि दाबी गरेका छन्।

कानूनलाई पूर्णता दिएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘विभिन्न आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र टुंगो लगाउन राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई संक्रमणकालीन न्यायका पक्षमा ऐक्यबद्धताका लागि हार्दिप अपिल गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

उनीहरूले विभिन्न राजनीतिक दलसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्।